कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको ५० हजार युरोको आपत्‌‌कालीन कोष स्थापना

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय कमिटीले कोरोना संक्रमणविरुद्ध लड्न ५० हजार युरोको आपत्‌‌कालीन कोष स्थापना गरेको छ । कमिटीको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति समेत गठन गरेको छ ।

संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसेको युरोपियन क्षेत्रको बैठकले कोरोनाको महामारीका बिरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरु एक भएर लाग्ने निणर्य गरेको हो । बैठकले ५० हजार युरोको एक आपतकालीन कोषको स्थापना गर्दे अति अत्यावश्यक सहयोगको लागि कोरोना प्रभाभिव स्थानहरुमा परिचालन गर्ने सहमती गरेको हो ।

स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा संघका महासचिव डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठसमेतको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दे उनीहरुले एनआरएनए केन्द्रले कोरोना विरुद्ध लड्न चालेका कदमहरुका बारेमा जानकारी गराएका थिए ।

उक्त रकम कोरोना प्रभावित क्षेत्रमा परिचालन गरिने युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले जानकारी दिए । संयोजक आचार्यको अध्यक्षता रहेको समितिको ११ सदस्यीय सचिवालयमा उपसंयोजकत्रय मुक्तबहादुर गुरुङ, कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने तथा आईसीसी सदस्यहरू रामशरण सिंखडा (यूके), सुभाष जोशी (बेल्जियम), सुनील रानाभाट (स्पेन), विजय मोक्तान (जर्मनी) र चिन्तामणि सापकोटा (स्पेन) छन् ।

बैठकले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसँगको सहकार्यमा युरोप क्षेत्रका स्वास्थ्यविज्ञहरू रहने गरी डा। बोधराज सुवेदीको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको छ । समितिले बिहीबारदेखि नै भाइरसको बढी प्रभाव रहेका युरोपेली देशमा समस्या पहिचान गरी लगत राख्न थाल्नेछ ।

समितिले अल्पकालीन तथा दीर्घकालीन सहयोग पहिचान गरी मूल समितिमा एक साताभित्र प्रतिवेदन पेस गर्ने निर्णय रहेको आचार्यले जानकारी दिए ।