योगेश भट्टराई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त

१५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।

को हुन् योगेश ?

योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका-३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रुपमा जन्मिएका हन् । उनका दाजु मात्रिका भट्टराई नेकपाको जिल्ला नेता छन् । उनका तीन दिदीबहिनी छन् । पत्नी विन्दा घिमिरे पेशाले नर्स हुन् ।

०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका योगेश तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष भएर पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी ०४३ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति भएका थिए । त्यसपछि उनी राजनीतिमा उदाए । अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुईपटक अध्यक्ष भए ।

नेकपा एमालेको उपत्यका सचिव हुँदै केन्द्रीय सदस्य र सचिवसम्म बनेका उनी हाल नेकपाको स्थायी कमिटी सदस्य छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका भट्टराई ०७४ भने आफ्नै जन्मस्थल ताप्लेजुङबाट फराकिलो अन्तरले विजयी भए ।