कोपेनहेगनमा छैटौं जनसम्पर्क कप फुटबल प्रतियोगिता सम्पन्न

डेनमार्क, कोपनहेगन ।

नेपाली जनसम्पर्क समिति डेनमार्कको आयोजनामा भएको ‘जनसम्पर्क समिति कप’ फुटबल प्रतियोगितामा हिमालयन क्लबले जित हात पारेको छ। फाइनलमा पुगेको बिएनडि युनाइटेड क्लबलाई सुन्यका विरुद्ध तीन गोल गरेर हिमालयन क्लब बिजेता बनेको हो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा हाइस्कोरर हिमालयन क्लबका प्रशान्त लामा बने भने उत्कृष्ट गोल रक्षक पनि हिमालयनकै केवल गिरि बने। उत्कृष्ट डिफेन्डर युनिटीका बिक्रम तिवारी, उत्कृष्ट टिम मेनेजर युनिटीका रमेश घिमिरे बने भने उत्कृष्ट राइजिङ्ग खेलाडीमा बेल्लाहोए क्लासिकका सुगम सुवाल बने।

बिजेता तथा उत्कृष्ट सबै खेलाडीहरुलाई डेनमार्कका लागि राजदुत युवनाथ लम्सालले कप तथा मेडल वितरण गरेका थिए। सो अबसरमा बोल्दै राजदूत लम्सालले विदेशमा भए पनि खेलप्रति नेपालीको चासो भएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिंह कार्कीले डेनमार्कस्थित नेपाली समुदायको हितमा नेपाली जनसम्पर्क समिति डेनमार्क सदैव सक्रिय रहदै आएको उल्लेख गर्दै भविष्यमा थप सक्रिय हुँदै जाने बताए।

यो पटकको प्रतियोगितामा हिमालयन क्लब, बेल्लाहोए क्लासिक क्लब, युनिटी स्पोर्ट्स क्लब, बीएनडी युनाइटेड क्लब र जनसम्पर्क समिति डेनमार्क गरी पाँच टिम सहभागी थिए।

१० वर्ष भन्दा मुनिका र १० देखि १४ सम्मका गरी दुई छुट्टाछुट्टै खेल खेलाइएको थियो।  प्रतियोगितामा नेपाली बाल खेलाडीहरुको पनि उत्साहजनक सहभागिता रह्यो।

यसैबीच, नेपाली जनसम्पर्क समिति डेनमार्कले छैटौ जेएसएस फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यसपटकपनि कोपेनहेगनमा जुलाई २० र २१ गरी दुई दिन सम्म चलेको थियो।