गुठी विधेयक पास हुन दिदैनाैं : शेरबहादुर देउवा

हेटौंडा /

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।

उनले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै जनताको कांग्रेस जनताको पक्षमा लाग्ने र सांसदबाट पास हुन नदिने बताए ।

उनले दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको भन्दै धेरै कुरामा बन्देज लगाउन खोजे पनि कांग्रेस कुनै पनि हालतमा चुपलागेर नबस्ने चेतावनी दिए ।

लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै सभापति देउवाले अघि भने, ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । कांग्रेस कहिले पनि त्यसको पक्षमा रहँदैन ।’

हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन गर्दै पार्टी सभापति देउवाले स्वतन्त्र सँस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा सरकार देखिएको आरोप लगाए ।

सरकारले मानवअधिकार आयोगको अधिकार खोसेर तानाशाह र निरंकुशताको संकेत दिएको उनको आरोप छ ।

मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको भन्दै उनले अहिले हत्या, हिंसा, बलात्कारका घटनाले प्रसय पाइरहेको सभापति देउवाको भनाइ छ ।

सरकारले कानुनी राज्यको महशुस जनतालाई दिन नसक्दा हरेक दिन अपराध बढ्दै गएको उनको तर्क छ ।