के नेपाली युवा जनशक्तिले सधैंभरि विदेशमै रगत पसिना बगाइरहने त ?

राजनीतिक परिवर्तनसँगै नेपाल यतिबेला आर्थिक रूपान्तरणको छटपटाहटमा छ । राणातन्त्र, राजतन्त्र या पञ्चायती शासनविरुद्ध प्रजातन्त्रको लडाइँ, संविधानसभाबाट नयाँ संविधान जस्ता राजनीतिक मुद्दाहरूबाट गुज्रँदै मुलुकले समावेसी सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा छिचोलिसकेको छ ।

राजनीतिक रूपले देशको यो कायापलट समयोचित रह्यो–रहेन भन्ने सवालको बहससमेत यतिबेला असान्दर्भिक या निरर्थकतुल्य देखिन पुगेको छ । किनकि, राजनीतिक मुद्दा किनारा लागेको अवधारणाका साथ देशले अब आर्थिक प्रगति मात्र खोजिरहेको छ ।

विकास र समृद्धिले नै नेपाली समाजका बाँकी अभाव तथा रिक्तताहरू स्वतः परिपूर्ति गर्नेछ र विश्व परिवेशअनुकुलको कदम चाल्नका लागि नेपाल विस्तारै जागृत हुँदैछ भन्ने धारणा दिनानुदिन प्रबल बनिरहेको अवस्था छ ।

वर्तमान राजनीतिक व्यवस्थाका राम्रा–नराम्रा पक्षहरूबारे राजनीतिक गतिविधिमा सक्रिय तप्का र तिनलाई नियालिरहेको विद्वत्–विश्लेषक तहले मन्थन गर्दै गर्लान्, गरिरहेकै पनि छन्, तर आमनगारिकको दृष्टि, कदम र चाहना भने आर्थिक समृद्धिकै मार्गतर्फ छ । सायद यही जनभावना महसुस गरेर होला, सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणालाई अघिसारेको छ ।

अत्यन्त राम्रो नारा छ– समृद्ध नेपाल, सुखी नेपाली । सदियौँअघिका सन्दर्भ नकोट्याऔँ, बितेको करिब सात दशक अवधि प्रजातन्त्रप्राप्ति, पुनप्र्राप्ति, फेरि लोकतन्त्रको लडाइँ र यसलाई संस्थागत गर्ने प्रक्रियामा देशले जो खर्च गरेको छ, यो सबै नेपाल समृद्ध र नेपाली सुखी हुनुपर्छ भन्ने अभीष्टबाटै भएको थियो ।

राजनीतिक आन्दोलनले कहिले सही दिशा लियो होला कहिले गलत बाटो पक्रियो होला, कहिले आन्दोलनको नेतृत्व ठीक दिशामा सोझियो होला कहिले भ्रमित भयो होला । कहिले समाजवादी त कहिले साम्यवादी जस्ता नारा मुखरित भए होलान् । आखिर जे–जसो भए पनि सारमा देश र जनताको चाहना भनेको त देशको समृद्धि र पारिवार वा व्यक्तिको सुखसँग नै गाँसिएको थियो । जुन–जुन वाद वा तन्त्रको कुरा गरे पनि अहिले पनि सारमा मुलुकले चाहेको समृद्धि र सुख नै हो ।

अब सबैले खोजेको कुरा समृद्धि र सुख नै हो भने यो कसरी हासिल हुन्छ त भन्ने प्रश्न स्वभावतः उठ्न पुग्छ । कुनै पनि देश समृद्ध बन्नका लागि त्यहाँ के–कस्ता सम्भाव्यताहरू छन् र तिनको उपयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान पुग्नुपर्छ ।

यसरी सम्भावनाहरूको खोजी गर्दा विभिन्न स्रोत देखिन सक्छन् । नेपालकै सन्दर्भमा चाहिँ जलस्रोत, पर्यटन जस्ता कुरामा उचित माहोल निर्माण गर्न सके मुलुकको आर्थिक प्रगतिका लागि महत्वपूर्ण योगदान पुग्न सक्छ भन्ने कोणबाट पछिल्ला दशकमा निकै चर्चा र बहस चल्दै आएका छन् ।

तर कुनै पनि स्रोतलाई सही परिचालन या सदुपयोग नगरेसम्म चर्चा र बहसले मात्र त केही हुँदैन भन्ने हाम्रो आजसम्मको अनुभवले बताइरहेकै छ । पर्यटनका विविध आयाम र जलस्रोतको भण्डार भएर पनि देशले अर्थको आपूर्तिचाहिँ वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स (विप्रेषण)बाट गरिरहेको छ । लगभग तीन दशकदेखि नै मुलुक रेमिटेन्सबाट चलिरहेको छ र पनि पर्यटन, ऊर्जा, जडीबुटीलगायतका अन्य स्रोतहरू खेर गइरहेका छन् भन्नुपर्दा कुन नेपालीको मन नदुख्ला ?

हो, वैदेशिक रोजगारको एउटा राम्रो पक्ष भनेको ‘रेमिटेन्स’ हो । परदेशिएका नेपाली युवा जनशक्तिले दुःखजिलो गरी कमाएर पठाएको पैसाले तिनका बाबुआमा, श्रीमती, छोराछोरीको मुखमा माड अनि शिक्षा र स्वास्थ्यको जोहो भएको छ ।

राजनीतिक द्वन्द्व, अस्थिरता र सङ्क्रमण अवस्थाले हिजो सबैथोक खायो । कृषि, उद्योगधन्दा, पर्यटन, निर्यात व्यवसाय सबै अधोगतिमा लागे । प्राकृतिक सम्पदामा धनी मानिए पनि प्राकृतिक साधन–स्रोत परिचालन गर्ने बाटो नै बन्द भयो । मुलुकको अर्थव्यवस्था फैलिने माहोल नै नदेखिएको अनि बेरोजगारी र व्यापारघाटा अचाक्ली बढेको परिवेशमा अर्थव्यवस्था सञ्चालन तथा बेरोजगारी समस्या समाधानको एक मात्र आधार नै वैदेशिक रोजगार बन्यो ।

फलतः विश्वका नामै नसुनेका मुलुकमा समेत आज नेपाली कामदार पुगेका छन् र थेगिदिएका छन् रेमिट्यान्समार्फत् मुलुकलाई । यसरी वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रमा सिर्जना भएको समस्याको एक मात्र गतिलो समाधान सिद्ध हुन पुगेको छ ।

गरिबीको रेखामुन्तिर रहेका बहुसङ्ख्यक नेपालीको रोजीरोटीको प्रमुख आधार बनेर केही भए पनि उज्यालो मुख यसैले पारिदिएको छ । नेपालको सिङ्गो अर्थतन्त्र उकास्नमा वैदेशिक रोजगारीले पु¥याएको मद्दत इतिहासले पनि भुलाउन सक्दैन । आज आर्थिक विकासका दृष्टिले नेपालका ग्रामीण समाजमा पहिलेको तुलनामा निकै सकारात्मक परिवर्तन आएको छ । यो कल्पनातीत परिवर्तनको मुख्य संवाहक नै वैदेशिक रोजगार हो ।

यसरी, विदेशिएका नेपालीबाट नेपालीको जीवनस्तरलाई उकास्ने गरी रेमिटेन्स त भित्रिएकै छ । तर के अब नेपाली युवा जनशक्तिले सधैंभरि विदेशमै रगत पसिना बगाइरहने त ? वैदेशिक रोजगारीप्रतिको निर्भरता यसैगरी बढाउँदै लैजाने ? वैदेशिक रोजगारीको प्रवद्र्धन नै गरिरहने ? देश विकासमा प्रयोग गर्नुपर्ने युवा जोश–जाँगर र शक्तिलाई विदेशी भूमिलाई सिँगार्न लगाइरहने ? तिनको पसिना, रगत र प्राणकै भरमा देश थेगिइरहन खोज्ने ? यस्ता प्रश्नमाथि गम्भीरतापूर्वक विचार–विमर्श गरी उचित जवाफ खोजेर अघि बढ्न ढिलो भइसकेको छ ।

देशोन्नतिको प्रमुख आधार तथा स्रोत भनेकै जनशक्ति हो । ऊर्वर जनशक्ति भनेको १५ देखि ६० वर्षको उमेर समूहभित्र पर्ने जनसङ्ख्या हो । त्यही जनसङ्ख्या धमाधम बाहिरिँदै जानु, गाउँबस्तीहरू युवाविहीन हुन पुग्नु, पहाडमा खेत बाँझै रहनु, वृद्ध, महिला र बालबालिकाहरूले जसोतसो खेतीपाती गरेको देखिनु, महिलाहरू हलो जोत्न बाध्य बन्नु के इतिहासमा पौरखी छवि बनाएका नेपालीलाई सुहाउँदो र सैह्य विषय हुन सक्दैन ।

प्राकृतिक स्रोतसाधन र आधाभन्दा बढी जनसङ्ख्या युवा भएको हाम्रो देशको विकासमा युवाको उपयोगभन्दा उत्तम अर्को विकल्प छैन । यस परिप्रेक्षमा वैदेशिक रोजगारबाट प्राप्त सीपयुक्त जनशक्तिको विकास यहाँनेर महत्वपूर्ण र मननीय हुन आउँछ ।

धेरै दुःखकष्ट सहेर भए पनि विदेशका विभिन्न आधुनिक प्रविधियुक्त उद्योग प्रतिष्ठानमा काम गरेका नेपाली युवा श्रमिकले उत्पादन प्रविधिसम्बन्धी धेरै सीप सिकेका छन् । नेपालमा त्यस किसिमका आधुनिक उद्योगधन्दाको विकास हुन सकेमा उनीहरूले सिकेका सीपको सदुपयोग हुन सक्छ ।

ती श्रमिकले पनि स्वदेशभित्रै आफ्नो सीपअनुरूप राम्ररी कमाउन सक्छन् र नेपालले अन्य देशले जस्तो औद्योगिक जनशक्तिका लागि अर्को मुलुकको मुख ताक्नु पर्दैन । वास्तवमा यो कुरा निकै महत्वपूर्ण छ र सुखी नेपाली समृद्ध नेपालको नारा बोकेर हिँडेको सरकारले खास ध्यान दिनु आवश्यक छ ।

विदेशमा रोजगार गर्ने क्रममा सिकेका सीप र ज्ञानलाई निजी वा पारिवारिक जीवनका अन्य विभिन्न क्षेत्रमा पनि सदुपयोग गर्न सकिन्छ भन्ने तथ्यलाई इन्कार गर्न सकिन्न । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू मिलेर साना–ठूला समूह बनाई, नेपालमै रहेका आफन्त र अन्य व्यक्ति संलग्न गराएर उद्योग–व्यवसाय गर्न सक्छन् ।

उनीहरूले सामूहिक लगानीमा व्यवसायिक कृषि, पशुपालन, फलपूmल खेतीदेखि पर्यटन उद्योग, जलविद्युत्, सञ्चार, स्वास्थ्य, यातायात आदिमा लगानी गर्न सक्छन् । कुटीर उद्योग अथवा ठूला व्यवसाय सञ्चालन गरी आर्थिक आत्मनिर्भरताको आधार तयार गर्न पनि सक्छन् ।

कैयन पीडा, विकृति–विसङ्गतिका बाबजुद वैदेशिक रोगारको माध्यमबाट विभिन्न देशसँग राज्यको सम्बन्ध सुधार हुनुका साथै वैदेशिक सीप तथा प्रविधि देशमा भित्रिएको यथार्थलाई उपेक्षा गर्न सकिँदैन ।

नेपाली समाजका मान्छेले विश्व जगतसँग परिचित हुने अवसर हासिल गर्नुका साथै सोच्ने र व्यवहार गर्ने शैलीमा पनि परिवर्तन आएको छ । आज विकट क्षेत्रमा जन्मे–हुर्केर पनि लाखौँ युवा फराकिलो दिमागले सोच्ने अवस्थामा पुगेका छन् । यो वैदेशिक रोजगारीका क्रममा हासिल भएको अतिरिक्त लाभकै उपज हो ।

तसर्थ, मुलुकमा राजनीतिक स्थिरता कायम हुन सक्यो र वर्तमान संविधानअनुरूपका तीनै तहका सरकारले निर्दिष्ट गति समात्न सके बेरोजगारीको समस्या इतिहास बन्नेछ । नेपालीले विदेशी श्रम बजारमा रोजगारीका लागि भौँतारिरहनु पर्नेछैन । विदेशीले नेपाली श्रमको शोषण गर्न नपाउने मात्र नभई पारिवारिक वातावरण र प्रेम अनि सामाजिक मर्यादा विखण्डन हुन पाउने छैन ।

विदेशबाट प्राविधिक ज्ञान सिकेर आएको जनशक्तिलाई देशमै व्यवस्थापन गरेर सिर्जनात्मक काममा लगाउन सकेमा पक्कै मुलुक आत्मनिर्भर बन्नेछ । देशमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि विकासका सबै अवयवहरू गतिशील बन्ने छन् ।

राष्ट्रियताको नाममा अरूलाई गाली गर्दै फेरि उनीहरूसितै हात थाप्दै हिँड्नुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ । फगत यसका लागि आवश्यक छ– सरकारी प्रतिबद्धता । नेपाली युवा श्रमिकले विदेशमा आर्जन गरेको उत्पादन प्रविधिसम्बन्धी अनेक सीपको सदुपयोग मुलुकभित्रै गर्न–गराउन सम्बन्धित विज्ञजनसमेतको परामर्श–सल्लाह र साथ–सहयोग लिएर अघि बढ्न सरकारले अब ढिलाइ गर्नु हुँदैन ।

लेखक देवमान हिराचन, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष

 

Leave a Reply

Your email address will not be published.