चर्चित नेपाली लोकदोहोरी कलाकारहरुसँग डेनमार्कका नेपालीले ‘भव्य रमाइलो’ गर्दै

कोपन्हेगन-

‘भरिया दाइले बिसाउने भारी, सुन माया डाँडैको चौतारी’, लगायतका कैयौं मार्मिक र लोकप्रिय गीतहरुबाट ख्याति कमाएका लोक तथा दोहोरी गायक विष्णु खत्री  तथा दर्जनौं लोक दोहोरी रेकर्ड गराइसकेकी र दर्शकलाई जुरुक जुरुक पार्ने लोक दोहोरी मार्फत स्टेज तताउन माहिर मानिने पोखरेली दोहोरी गायिका तुलसा जिसी डेनमार्कको राजधानी कोपन्हेगनमा प्रस्तुती दिन आउंदैछन्।

आगामी शनिबार (मे ५) का दिन कोपन्हेगनको Charlotte Ammundsens Plads 3 मा यी चर्चित नेपाली लोकदोहोरी गायकले घमासान दोहोरी प्रस्तुत गर्ने मात्र छैनन् डेनमार्कका स्थानीय कलाकारले पनि गाउने छन्। अझ डेनमार्क बस्ने नेपाली लोकदोहोरी पारखीहरुले आगन्तुक गायक गायिका संग समेत दोहोरी गाउने विशेष अवसर पाउने आयोजकले बताएका छन्।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कले आयोजना गरेको मनोरन्जनात्मक तथा नेपाली पहिचानको सांस्कृतिक कार्यक्रम, चर्चित लोक दोहोरी गायक-गायीका संग दोहोरी भिडन्त सम्भवत: डेनमार्कमै पहिलो पटक आयोजना हुन लागेको हो।

सप्ताहान्त, शनिबारको साँझ राखिएको कार्यक्रम धेरै नेपालीहरुले सहभागिता जनाउन उपयुक्त दिन र समय भएको आयोजकले अपेक्षा गरेका छन्। लोक दोहोरी गीत संगीत नेपाली पहिचान, परम्परा र आफ्नै चिनारी भएकाले कार्यक्रममा स-गर्व सहभागी भै परदेशमा यस्तो मौकाको यथासम्भव सदुपयोग गर्न इनास डेनमार्कले सम्पूर्ण स्थानीय नेपालीहरूमा आह्वान पनि गरेको छ।

“भव्य रमाइलो सांस्कृतिक कार्यक्रम” नाम दिइएको सो कार्यक्रममा मे ५ तारिखको अपरान्ह ४ बजे देखि रातको ११ बजेसम्म दर्शक, सहभागीहरुले ‘भव्य रमाइलो’ गर्न पाउने बताइएको छ।

कार्यक्रमबारे जानकारी र थप केहि बुझ्नु परे सम्पर्क गर्न यो लिंकमा हेर्नुहोला: भब्य रमाइलो सास्कृतिक कार्यक्रम

Leave a Reply

Your email address will not be published.