कामासक्तको दुर्गति (महाभारत चिन्तन-५५)

डा.मतिप्रसाद ढकाल/

बाह्र वर्ष वनमा बिताएपछि विराटनगरमा बाँकी एकवर्ष गुप्तवासका रूपमा बिताउनका लागि पाण्डवहरूले गुप्त मन्त्रणा गरे । त्यस क्रममा विराट राजाका दरबारमा युधिष्ठिर कङ्क नामले जुवा खेल्ने व्यक्तिका रूपमा, भीमसेन बल्लव नामले मुख्य भान्सेका रूपमा, अर्जुन बृहन्नला नामले नपुंसक भएर गीत/संगीत प्रशिक्षकका रूपमा, नकुल ग्रन्थिक नामले घोडाको हेरचार गर्ने व्यक्तिका रूपमा, सहदेव अरिष्टनेमी नामले गाईहरूको रेखदेख गर्ने व्यक्तिका रूपमा र द्रौपदी सैरन्ध्री नामले रानी सुदेष्णाको परिचारिकाका रूपमा रहन थाले ।

गुरु धौम्यले राजदरबारमा रहँदा केकस्तो आचरण गर्नुपर्छ भन्ने बारेमा पाण्डवहरूलाई दिशानिर्देश गरे । त्यस क्रममा राजदरबारमा सम्मान वा अपमान जे भए पनि सबै सहेर बस्नुपर्ने, ‘म राजाको प्रिय व्यक्ति होइन’ भन्ने सम्झेर सदैव सावधान रही राजाको सेवा गर्नुपर्ने, अभीष्ट वस्तु पाएर अधिक हर्षित हुन नहुने र अपमानित हुँदा पनि अधिक दुःखको अनुभूति नगरी सदैव मोहशून्य भएर विवेकले काम लिनुपर्नेजस्ता कुराहरू धौम्यले पाण्डवहरूलाई बताए ।

पाण्डवहरू विराटनगरको समीपमा पुगेर श्मशानघाटको नजिकै रहेको एउटा शमीको वृक्षमा मृतकको कृत्रिम शरीरजस्तो बनाएर आफ्ना अस्त्रशस्त्रहरू थन्क्याए । विराटनगरमा प्रवेश गर्ने बेलामा युधिष्ठिरले दुर्गादेवीको स्तुति गरे । गुप्त भेषमा सबै पाण्डवहरूले विराट राजाकहाँ आश्रय पाए । युधिष्ठिरले विराटसँग हीन वर्णका व्यक्तिका साथमा कहिल्यै विवाद गर्न नपरोस् भनेर वर मागे । द्रौपदी राजमहलमा दासीका रूपमा रहँदा आफूलाई मरेतुल्य भएको ठान्न विवश भइन् ।

विराट राजाको सालो कीचक सेनापतिका रूपमा नियुक्त भएको थियो । बहिनी सुदेष्णाको अनुमति पाएर कीचकले सैरन्ध्री भेषधारी द्रौपदीसमक्ष पुगेर प्रेमयाचना गर्न थाल्यो । तिमीले चाहन्छ्यौ भने मैले आफ्ना पूर्वपत्नीहरूलाई छाडिदिन्छु वा तिनीहरू तिम्रो दासी भएर रहने छन् भने म स्वयं दासकै जस्तो तिम्रो अधीनमा रहनेछु भनेर उसले द्रौपदीसँग अनुनय विनय गर्न थाल्यो । त्यसको उत्तरमा द्रौपदीले आफू तुच्छ दासी भएको हुँदा आफूसँग यसरी प्रेमयाचना गर्नु उपयुक्त नभएको, आफ्नै श्रीमतीप्रति अनुराग राख्नु नै परमधर्म ठानिएको, परस्त्रीलम्पट पुरुषले कहिल्यै कल्याण नदेख्ने भएकाले आफ्नै पत्नी प्यारी ठान्नु उपयुक्त रहेको भन्दै कीचकलाई सम्झाउन पुग्छिन् ।

सैरन्धी भेषधारी द्रौपदीले जतिसुकै सम्झाए पनि कामासक्तका कारण अन्धो बनेको कीचकले द्रौपदीलाई आफ्नो वचन उल्लङ्घन नगरी सहर्ष प्रेमप्रस्ताव स्वीकार्न बारम्बार दबा दिइरह्यो । ‘अशक्तस्तु पुमाञ्छैलं न लङ्घयितुमर्हति’ (महाभारत ४।१४।५१) अर्थात् असमर्थ पुरुषले जतिसुकै प्रयास गरे पनि पर्वतलाई नाघ्न सक्तैन भन्दै कामातुरका रूपमा बहकिएर अनुचित कुराकानी नगर्न द्रौपदीले कीचकलाई अनुरोध गर्छिन् ।

बहिनी तथा रानी सुदेष्णासँग कीचकले सैरन्ध्री प्राप्त नभए आफू प्राणसमेत त्याग्न तत्पर भएको बताएपछि सुदेष्णाले द्रौपदीलाई मदिरा ल्याउने बहानामा कीचकका घरमा पठाउँछिन् । कामासक्तले अन्धो भएको कीचकले द्रौपदीलाई आफूले चाहेअनुसारको व्यवहार नगरेको भनेर द्रौपदीका कपालमा समाएर भुइँमा लडाई लात्ताले हानेर युधिष्ठिर र भीमसेनकै सामुन्ने राजभवनमा द्रौपदीको घोर अपमान गर्छ । भुइँमा लडेकी द्रौपदीका मुखबाट रगत बग्छ । गुप्तवासमा बसेका कारण युधिष्ठिर र भीमसेनले द्रौपदीको त्यस किसिमको सार्वजनिक अपमानलाई प्रतिकार गर्न नसकी बाध्य भएर क्षमा दिनु उचित हो भनेर द्रौपदीलाई सम्झाउँछन् ।

तिरस्कृत भएका ठाउँमा धेरै समय बसिरहनु उचित नहुने ठानेर द्रौपदी रानी सुदेष्णा भएका ठाउँमा पुग्छिन् र उनलाई सबै वृत्तान्त बताउँछिन् । त्यसपछि सुदेष्णा पनि कीचकप्रति क्रुद्ध हुन्छिन् भने द्रौपदीले कीचकको वध अवश्यम्भावी भएकाले आफ्ना भाइको जीवित श्राद्ध गर्नका लागि सुदेष्णालाई आग्रह गर्छिन् । ‘क्षरतीति तपः क्रोधाद्’ अर्थात् क्रोधबाट तपस्या नष्ट हुने भएकाले आफू जतिसुकै अपमानित भए पनि सहनशील भएर उनले कीचकलाई सराप नदिएकी हुन् ।

कीचकले आफूलाई लात्ताले हानेर सार्वजनिक रूपमा अत्यन्त अपमान गरेपछि द्रौपदीले कीचकलाई मार्नुपर्छ भन्ने सोच बनाएकी थिइन् । कीचकको वधका लागि आफ्ना पति भीमसेनबाहेक उनले अर्को विकल्प नदेखेर उनी भीमसेन भएका ठाउँमा गइन् । भीमसेनसँग विलाप गरिन् र आफ्नो दुःख प्रकट गर्दै कीचकलाई मार्न अनुरोध गरिन् । त्यस क्रममा उनले राजपुत्री भएर पनि आफूले दासीजस्तो अत्यन्त हीन काम गर्नुपरेको, सबैले आफ्नो अभ्युदयको अवसर देख्ने गरेको, दुःख आए त्यसको अन्त पनि सम्भव रहेको, मान्छेको अर्थसिद्धि वा जयपराजय अनित्य वा अस्थिर रहेको, सम्पत्ति र विपत्ति सदैव गाडीको चक्काजस्तै घुमिरहने भएकाले आफूले पतिहरूको अभ्युदयकालको प्रतीक्षा गरिरहेको कुरा बताइन्—
आत्मकालमुदीक्षन्ती सर्वं दुःखं किलान्तवत् ।
अनित्या किल मत्र्यानामर्थसिद्धिर्जयाजयौ ।
चक्रवत्परिवर्तन्ते ह्यर्थाश्च व्यसनानि च ।।
(पूर्ववत् ४।२०।२–४)

द्रौपदी र भीमसेनको संवादका क्रममा भीमसेनले राजदरबारमा कीचकद्वारा द्रौपदीको अत्यन्त तिरस्कार हुँदा आफूले देखेर त्यसको प्रतिकारका लागि अग्रसर हुन चाहे पनि धर्मराज युधिष्ठिरले त्यसका लागि रोकेको हुँदा आफूले टुलुटुलु हेरिरहन विवश भएको बताए । कीचकको अहिल्यै वध नगर्ने हो भने त्यसले आफूलाई जुनसुकै बेला पनि मार्नसक्ने सम्भावना व्यक्त गर्दै द्रौपदीले श्रीमती सुरक्षित भएमा सन्तानको रक्षा हुनेछ, सन्तान सुरक्षित भएमा आत्मा सुरक्षित हुनेछ र आत्मा नै पत्नीका गर्भबाट पुत्ररूपमा जन्म लिने भएकाले पनि श्रीमतीले पतिको रक्षा गर्नुपर्छ भन्दै भोलि सूर्योदय हुने बेलासम्म कीचक जिउँदै रहेमा विष घोलेर पिउँछु किनकि कीचकको अधीनमा रहनुभन्दा तिम्रै अघि प्राणत्याग गर्नु मेरा लागि श्रेयस्कर छ भनेर द्रौपदीले भीमसेनलाई कीचकको वधका लागि तत्काल प्रवृत्त हुन बाध्य बनाइन् ।

द्रौपदीको विशेष आग्रहलाई गम्भीर विचार गरेर भीमसेनले कीचकवधको योजना बनाए । रातमा नृत्यशालामा रहेको पलङमा एक्लै आउनका लागि कीचकलाई आमन्त्रण गर्नू भनेर द्रौपदीसँग भीमसेनले सल्लाह गरे । तदनुसार द्रौपदीले कीचकलाई रातमा एक्लै आउन आग्रह गरिन् । कामवासनाले अत्यन्त मोहित भएको कीचक द्रौपदीका कुरामा पूर्ण विश्वस्त भई सम्भावित समागमको सुखको चिन्तनमा हरायो । अत्यन्त खुसी हुँदै रातमा नृत्यशालामा रहेको पलङमा पुगेर द्रौपदीलाई प्रेमपूर्ण आग्रहका साथ ब्युँझाउने प्रयत्न ग¥यो । उक्त पलङमा द्रौपदी होइन भीमसेन सुतिरहेका थिए । भीमसेन र कीचकका बीचमा मध्यरातमा घमासान युद्ध भयो । अन्ततः भीमसेनले कीचकलाई त्यही रातमा मारिदिए र द्रौपदीको शोक हरण गरे । द्रौपदीले तत्काल सभाभवनका रक्षकहरूलाई कीचक मारिएको सूचना दिइन् । द्रौपदीबाट नै यस किसिमको मार्ने षड्यन्त्र भएको भन्ने ठानेर उपकीचकहरूले द्रौपदीलाई बाँधेर श्मशानघाटतिर लगे तर भीमसेनले ती सबैलाई मारेर द्रौपदीलाई त्यहाँबाट राजदरबारमा फर्काए ।

कीचकका आफ्नै बहिनीज्वाइँ राजा थिए भने कीचक स्वयं विराट राज्यको सेनापति थियो । उसका अनेकौँ श्रीमतीहरू थिए । पद, प्रतिष्ठा र धनदौलतका आडमा उसले द्रौपदीजस्ती निरपराध र शरणार्थी जीवन बिताइरहेकी महिलाप्रति कामवासनाको उद्दण्डता प्रदर्शन ग¥यो । त्यसैको फलस्वरूप कीचकले असमयमै मृत्युवरण गर्नुपरेको हो । वर्तमान समयमा पनि द्रौपदीजस्ता पतिव्रता धर्ममा प्रवृत्त भएका सतीत्वका प्रतिमूर्ति नारीहरूमाथि कृदृष्टि र कुव्यवहार प्रदर्शन गर्ने कीचकहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कीचक प्रवृत्ति मौलाउँदै जाँदा नारीको अस्तित्व र अस्मिता नै दिनानुदिन सङ्कटमा पर्न थालेको छ । त्यसैले कीचक प्रवृत्तिको अन्त्यका लागि नारी स्वयं जागृत हुनुपर्छ भने पत्नीव्रत पुरुषहरू पनि सचेततापूर्वक कीचक प्रवृत्तिको अन्त्यका लागि सदैव अग्रसर भइरहनु आवश्यक छ ।

 

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपरासी)

Leave a Reply

Your email address will not be published.